२३ मङ्सिर २०७४ काठमाडौं। अहिलेसम्मको मत परिणामले तेस्रो दलमा खुम्चिएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निरन्तरको विजयी रेकर्ड भने कायम राख्ने देखिएको छ। यो चुनावमा देउवा विजयी हुँदा उनको नाममा एउटा रेकर्ड बन्ने छ। २०४८ देखि अहिलेसम्म लगातार चुनाव जितेर सांसद बन्ने नेता शेरबहादुर देउवामात्र हुने अहिलेसम्मको चुनावी परिणामले संकेत दिएको छ। २०४८ यता लगातार चुनाव जित्नेमा देउवाले आफ्नो नाम राख्नेछन्। २०४८ देखि २०७० सम्म लगातार प्रत्यक्ष निर्वाचन जित्नेमा अन्य नेताहरु पनि छन्। तर उनीहरुको यो चुनावमा निरन्तरता भंग हुने देखिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस नेता रामचन्द्र पौडेल, विजयकुमार गच्छदार र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले २०४८ देखि २०७० सम्म लगातार प्रत्यक्ष चुनाव जितेका थिए। तीमध्ये देउवा अहिलेको चुनावमा पनि जित्ने संकेतसहित मतगणनामा अग्रस्थानमा छन्। तर पौडेल र गच्छदारले अहिलेसम्म पाएको मतको ट्रन्ड यहि अवस्थामा रह्यो भने उनीहरु दुबैजनालाई जित निकाल्न मुस्किल छ। बिजुक्छे यसपटक चुनाव नै लडेका छैनन्। यी ४ जनाबाहेक अन्य २ नेता पनि छन् जसले प्रत्यक्ष चुनाव नलडेपनि समानुपातिक तर्फबाट छानिएर लगातार २६ वर्षसम्म सांसद हुने मौका पाए। गच्छदारसँगै कांग्रेस भित्रिएका रामजनम चौधरी र कांग्रेस नेता पूर्णबहादुर खड्का २०४८ देखि निरन्तर सांसद थिए। तर यी दुई पनि अहिलेको चुनावमा भने पछि परिरहेका छन्।
No comments:
Post a Comment