विदुर, ६ मंसिर– नुवाकोटमा बामपन्थी र लोकतान्त्रिक गठबन्धनले एकै समय र स्थानमा चुनावीसभा आयोजना गरेपछि स्थानीय प्रशासनले दुवै सभामा रोक लगाएको छ । जिल्ला प्रशासनले दुई पक्षका कार्यकर्ताबीच झडप हुनसक्ने आशंकामा प्रचार अवधि नसकिँदै चुनावीसभामा रोक लगाएको हो । संघीय प्रतिनिधिसभाको क्षेत्र नम्बर–१ म पर्ने लिखु गाउँपालिका–१ ढिकुरे बजारमा बाम र लोकतान्त्रिक गठबन्धनले बिहीबार एकै समयमा शक्ति प्रदर्शनसहित चुनावीसभा आयोजना गरेका थिए । बाम गठबन्धनको सभालाई एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र लोकतान्त्रिक गठबन्धनको सभालाई पूर्वमन्त्री एवं काँग्रेस युवा नेता गगन थापाले सम्बोधन गर्ने कार्यक्रम थिए । स्थानीय प्रशासनले उक्त स्थान र आसपास क्षेत्रमा बिहान ६ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म १२ घण्टासम्म सभा/जुलुस नपाइने गरी निषेधित क्षेत्र घोषणा गरिएको भन्दै सूचना प्रकाशित गरिएको छ । सूचनामा ढिकुरे बजारबाट पूर्वतर्फ चौघडा, पश्चिमतर्फ बराहफेदी डाँडा, उत्तरतर्फ माझपानी र दक्षिणतर्फ चौघडासम्म कुनै सभा, जुलुस गर्न नपाइने उल्लेख छ । सरकारले काँग्रेस क्षेत्र नम्बर–१ का उम्मेदवार रामशरण महतमाथि बम प्रहार भएको घटनामा दोषी ठहर गर्र्दै मंगलबार मात्र प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो । उक्त क्षेत्रमा काँग्रेस नेता महत र माओवादी नेता हितबहादुर तामाङ तेश्रोपटक चुनावी प्रतिस्धर्पामा छन् । यसअघि ०६४ र ०७० को दुवै संविधानसभा निर्वाचनमा तामाङ महतसँग पराजित भएका थिए ।
No comments:
Post a Comment