२३ मंसिर, चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नं. ३ मा २४ सय मतको अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रचण्डले ५ हजार ७ सय ५६ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले ३ हजार ३ सय ५९ मत पाएका छन् । कैलालीमा देउवा पत्नि आरजुलाई झड्का, बाम गठबन्धन अग्र स्थानमा कैलाली । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर ५ मा बाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । एमाले उम्मेद्वार नारदमुनि रानाले ११ हजार ५४ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । भने, नेपाली कांग्रेसकी नेतृ आरजु देउवा राणाले ९ हजार ७ सय ३१ मत ल्याएर पछ्याइ रहेकी छन् । राना र राणाको प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । केही समय अगाडि देउवाले अग्रता कायम गरे पनि उनको अग्रता धेरै समय टिक्न सकेन । प्रतिनिधिसभातर्फ अहिलेसम्म कहाँ–कसले जिते ? काठमाडौं, मंसिर २३ । आम निर्वाचनका परिणामहरु धमाधम आइरहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो र दोस्रो चरणमा भएका मतदानका परिणामहरु आइरहेका छन् । अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी सिट जितेको छ । उसले २३ स्थानमा जित हासिल गर्दा नेकपा माओवादी केन्द्रले ६ स्थानमा जित दर्ता गरेको छ । नेपाली कांग्रेसले भने अहिलेसम्म ५ स्थानमामात्र जित निकालेको छ । एक स्थानमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पछिल्लो परिणामअनुसार मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका डा. मीनेन्द्र रिजाल २४,५७५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ऋषिकेश पोखरेलले २३,९२३ मत प्राप्त गरेका छन् । मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर–४ मा माओवादी केन्द्रका अमनलाल मोदी ३३,५२९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका महेश आचार्यलाई २६,८०० मत प्राप्त गरे । दोलखा प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ५५,९५४ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रबहादुर खड्काले २५,८०१ मत प्राप्त गरे । पाँचथरमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बसन्तकुमार नेम्वाङ ३८,६४१ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे २८,०२५ मत प्राप्त गरे । सिन्धुपाल्चोक–१ मा माओवादी केन्द्रका अग्नि सापकोटा ४०,५०४ मतसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका मोहन बस्नेतले २९,७९८ मत पाए । सिन्धुपाल्चोक–२ मा एमालेका शेरबहादुर तामाङ ३८,४०१ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पशुपतिशमशेर राणाले ३०३६९ मत पाए । ललितपुर क्षेत्र नम्बर–३ मा माओवादी केन्द्रकी पम्फा भुसाल २४,०३६ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मदन अमात्यले २२,३३६ मत पाए । मोरङ–१ मा एमालेका घनश्याम खतिवडा ३७,५२४ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डिकबहादुर लिम्बुले ३१,४३६ मत ल्याए । मोरङ क्षेत्र नम्बर–३ मा एमालेका भानुभक्त ढकाल ४२,४१३ मतसहित विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुनील शर्माले ४०५०० मत ल्याए । मोरङ–६ मा एमालेका लालबाबु पण्डित ३३,९४१ मत ल्याइ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका शेखर कोइरालालाई पराजित गरे । कोइरालाको ३३,२६६ मत रहेको छ । बाग्लुङ–१ मा एमालेका सूर्य पाठक ३३,६५७ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी चम्पादेवी खड्काको २०,६०० मत ल्याइन् । बाग्लुङ–२ मा माओवादी केन्द्रका देवेन्द्र पौडेल २८,८२७ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका निरज पुन १९,९०५ मत पाएर पराजित भए । ओखलढुंगामा एमालेका यज्ञराज सुनुवार ३२,५८० मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामहरि खतिवडाले २७,३२७ मत ल्याए । रसुवामा कांग्रेसका मोहन आचार्य ११,४५३ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका जनार्दन ढकालले १०,२७८ मत पाए । धादिङ–१ मा भूमिप्रसाद त्रिपाठी ४९,१२१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रसाद अर्यालले २१,९६८ मत ल्याए । धादिङ–२ मा पनि एमालेकै खेम लोहनी ३६,२५३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिलमान पाख्रिनले ३५,६१४ मत ल्याए । काठमाडौं उपत्यकामा भने मिश्रित परिणाम आएको छ । घोषित ६ ओटा क्षेत्रमध्ये तीनओटामा नेकपा एमालेका उम्मेदवार तथा तीनओटामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । चारओटा क्षेत्रमा भने मतगणना जारी छ । काठमाडौं क्षेत्र नम्बर–१० मा नेपाली कांग्रेसका राजन केसी २०,५१३ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका हितमान शाक्यले १७,८३५ मत प्राप्त गरे । काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह १०,९३७ मत ल्याइ विजयी भएका छन् । उनी ८१९ मतान्तरले विजयी भएका हुन् । उनले विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई पराजित गरे । मिश्रले १०,११८ मत पाए । काठमाडौं–३ बाट एमालेका कृष्ण राईले १९,१६९ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी अम्बिका बस्नेतले १४,८८४ मत ल्याइन् । काठमाडौं–४ मा नेपाली कांग्रेसका गगनकुमार थापा २१,५५१ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले १८,१४० मत ल्याए । काठमाडौं–८ मा एमालेका जीवनराम श्रेष्ठ विजयी भए । श्रेष्ठले १३,३९७ मत ल्याउँदै कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गरे । जोशीले १२,९५३ मत पाए । काठमाडौं–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २२,८५२ मत ल्याए भने उनले कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई पराजित गरे । रञ्जितले १४,८०२ मत पाए ।
No comments:
Post a Comment