• Breaking News

    काठमाडौंमा को अगाडि ? नसोचेकै परिणाम आउँदै !

    काठमाडौं । राजधानी काठमाडौं उपत्यकाका सबै निर्वाचन क्षेत्रहरूमा काङ्ग्रेस र कम्युनिष्ट उम्मेदवारहरूबीच कडा प्रतिष्पर्धाको स्थिति पैदा भएको छ । मङ्सिर २१ गते हुने निर्वाचनका लागि मैदानमा उत्रिएका दलहरूमध्ये भक्तपुरको एक नम्बर निर्वाचन क्षेत्रमा नेमकिपा अगाडि देखिएको छ । त्यस्तै काठमाडौंको क्षेत्र नंं. एकमा नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई विवेकशील साझा नामक पार्टीका तर्फबाट उम्मेदवार बनेका रवीन्द्र मिश्रले टक्कर दिइरहेका छन् । यी दुईबाहेक अन्य तेह्र निर्वाचन क्षेत्रमा काङ्ग्रेस र कम्युनिष्टबीच तीव्र प्रतिस्पर्धाको स्थिति छ । काठमाडौं क्षेत्र नं. एकमा काङ्ग्रेस नेता प्रकाशमान सिंह, विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र र वाम गठबन्धनका अनिल शर्माबीच त्रिपक्षीय टक्करको स्थिति छ । मिश्रले काङ्ग्रेसको मत बढी तान्ने देखिएपछि अनिल शर्मा आफू विजयी बन्नेमा विश्वस्त हुन पुगेका छन् । काङ्ग्रेसको गढ मानिने उक्त क्षेत्रमा प्रकाशमान सिंह पराजित हुने कल्पना गरिएको छैन । तर, रवीन्द्र मिश्रको पक्षमा उत्पन्न लहर यही रूपमा बढ्दै गएमा प्रकाशमान सिंहलाई निकै मिहिनेत गर्नुपर्ने देखिएको छ । काठमाडौं क्षेत्र नं. २ मा माधवकुमार नेपाल र दीपक कुइँकेलबीच चर्को प्रतिपस्र्धा भए पनि उक्त क्षेत्रमा कम मतान्तरले भए पनि दीपक विजयी बन्ने विश्वास गरिएको छ । तीन नम्बर क्षेत्रमा एमालेका कृष्ण राई काङ्ग्रेसकी अम्बिका बस्नेतभन्दा केही अगाडि भएको पाइएको छ । चार नम्बर निर्वाचन क्षेत्रमा काङ्ग्रेसका गगन थापा र एमालेका डा. राजन भट्टराईबीच प्रतिस्पर्धा छ । उक्त क्षेत्रमा गगन लोकप्रिय र बलियो देखिएकोले उनी विजय हुनेमा धेरैले विश्वास गरेका छन् । तर, केही अघि ‘हिन्दूराष्ट्र’ र ‘राजसंस्था’बारे उनले दिएको अभिव्यक्तिले राष्ट्रवादीहरूलाई चिढ्याएको बुझिन्छ । स्मरणीय छ, गत निर्वाचन (२०७०) मा काठमाडौंबाट कमल थापाको पार्टीले समानुपातिकतर्फ सबैभन्दा बढी मत हासिल गरेको थियो । यस्तो वास्तविकतालाई उपेक्षा गरेर गगनले ‘हिन्दूराष्ट्र’ र ‘राजसंस्था’ पक्षधरहरूलाई चिढ्याउने अभिव्यक्ति किन दिएका हुन् बुझ्न सकिएको छैन । उनको आफ्नै अभिव्यक्तिका कारण केही मत घट्ने देखिए पनि राजन भट्टराईबाट गगन थापा पराजित हुने विश्वास भने अहिलेसम्म गरिएको छैन । राजनले कडा टक्कर दिनेचाहिँ ठानिएको छ । पाँच नम्बर क्षेत्रमा पहिले नरहरि आचार्य विजयी भएकोले यसपटक पनि काङ्ग्रेस विजयी बन्ने विश्वास धेरैले गरेका छन् । तर, सो क्षेत्रमा काङ्ग्रेस नेता डा. प्रकाशशरण महत र एमाले नेता ईश्वर पोखरेलबीच कडा मुकाबिला हुने देखिएको छ । काठमाडौंको ६ नम्बर क्षेत्रमा काङ्ग्रेस विजयी बन्ने ठहर धेरैले गरेका छन् । माओवादीका झक्कुप्रसाद सुवेदीभन्दा काङ्ग्रेसका भीमसेनदास प्रधान उक्त क्षेत्रमा निकै बलवान मानिएका छन् । सात नम्बर निर्वाचन क्षेत्रमा राप्रपाका विक्रम थापा र एमालेका रामवीर मानन्धरमध्ये मानन्धर अगाडि देखिएका छन् । आठ नम्बर क्षेत्रमा काङ्ग्रेस विजयी बन्ने अनुमान गरिएको भए पनि सो क्षेत्रमा लोकप्रिय मानिने काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई एमालेका जीवनराम श्रेष्ठले कडा टक्कर दिने स्थिति रहेको छ । नौ नम्बर क्षेत्रमा काङ्ग्रेसका ध्यानगोविन्द रञ्जित र एमालेका कृष्णगोपाल श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा छ । उक्त क्षेत्रमा कसले विजय हात पार्ने हो भन्न सकिने स्थिति छैन । काठमाडौंको दश नम्बर क्षेत्रमा भने नेपाली काङ्ग्रेसका राजेन्द्रकुमार केसी निकै बलियो देखिएका छन् । केसीसँग प्रतिस्पर्धा गर्न माओवादीका हितमान शाक्य मैदानमा छन् । अहिलेसम्म शाक्यले केसीलाई उछिन्न सक्ने अवस्था पैदा भएको छैन । ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा कम्युनिष्ट गठबन्धनका उम्मेदवारहरू र काङ्ग्रेसबीच उच्च तहको प्रतिस्पर्धा छ । यसअघिको निर्वाचनमा तीनवटै क्षेत्र काङ्ग्रेसको पोल्टामा गएकोले काङ्ग्रेस पार्टी यसपटक पनि विजयी बन्नेमा विश्वस्त छ । उता कम्युनिष्टहरूले भने दुई वामपन्थी पार्टी मिलेकोले सबै क्षेत्रबाट कम्युनिष्ट उम्मेदवार विजयी बन्ने विश्वास गरेका छन् । ललितपुरको एक नम्बर क्षेत्रमा काङ्ग्रेसका उदयशमशेर राणा र एमालेका नवराज सिलवाल, दुईमा काङ्ग्रेसका चन्द्र महर्जन र एमालेका कृष्णलाल महर्जन तथा तीनमा काङ्ग्रेसका मदन अमात्य र माओवादीकी पम्फा भुसालबीच ‘काँटाको टक्कर’ रहेको छ । भक्तपुरको एक नम्बर क्षेत्र फेरि पनि नेमकिपाकै हातमा जाने विश्वास गरिन्छ । यसअघि काङ्ग्रेस विजयी बनेको दुई नम्बर क्षेत्रमा भने एमालेका महेश बस्नेत र काङ्ग्रेसका दमननाथ ढुङ्गानाबीच चर्को प्रतिस्पर्धाको स्थिति देखिएको छ । -घटना र विचार

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर