८ मंसिर, चौतारा । मौन अवधिमा चुनावीसभा गरेको भन्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराकी छोरी देवयानीलाई सिन्धुपाल्चोकमा वामपन्थी कार्यकर्ताले अवरोध गरेका छन् । बुबालाई चुनाव जिताउन केही दिनदेखि सिन्धुपाल्चोकमा खटिएकी देवयानीलाई वामपन्थी कार्यकर्ताले आक्रमण प्रयास गरेपछि सुरक्षाकर्मीले स्कर्टिङ गरेर काठमाडौं पठाएका छन् । शुक्रबार विहान चौतारा नगरपालिकाको कल्लेरीस्थित कांग्रेस नेता यज्ञप्रसाद दंगालको घरमा स्थानीय भेला गरेको भन्दै वामपन्थी कार्यकर्ताले आपत्ति जनाएका थिए । सो क्रममा विवाद हुँदा एकजनाले पानीको जार उठाएर देवयानीमाथि प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले र माओवादीका कार्यकर्ताले बिरोध जनाएका हुन् । पानीको जारले देवयानीलाई लाग्न पाएन । उनलाई तत्कालै लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले सो ठाउँबाट भगाएको बताइएको छ । देवयानीलाई सशस्त्र प्रहरीले स्कर्टिङ गरि सैनिक क्याम्पमा राखेको थियो । त्यहाँ पनि वामपन्थी कार्यकर्ताले नाराबाजी गरेपछि उनलाई सुरक्षा सहित काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । तत्कालिन युवराज दिपेन्द्रकी प्रेमिका देवयानीसँग विहे गर्न तत्कालिन महारानी ऐश्वर्याले नमानेपछि दिपेन्द्रले दरवार हत्याकाण्ड गराएको भनिदै आएको छ । दरवार हत्याकाण्डको केही समयपछि देवयानीको विवाह भारतका एक रजौटासँग भएको थियो । यसैबीच, सिन्धुपाल्चोकको आकाशमा सेनाले हेलिकोप्टरबाट समेत गस्ती गरिरहेको छ । अति संवेदनशील जिल्ला मानिएको सिन्धुपाल्चोकमा चुनाव शान्तिपूर्ण रुपमा गराउन नेपाल प्रहरीका एसएसपी सहित १३ जना डिएसपीको टोली कमाण्डोा सहित परिचालन भएको छ ।
No comments:
Post a Comment