काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीले आफूमाथि अनावाश्यक आरोप लगाउने गरेको गुनासो गरेका छन् । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीले बारम्बार आफुलाई निर्वाचन सार्न लागेको भनेर आफुमाथि भ्रमको खेती गरिरहेको भन्दै त्यस्तो भ्रमका पछि नलाग्न आव्हान गरेका छन् । उनले जस्तोसुकै हालतमा पनि तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने पक्षमा आफु रहेकोे पनि प्रष्ट पारे । नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग बुधबार बालुवाटरमा भेट गर्दै प्रधानमन्त्री देउवाले आफुमाथि निर्वाचन सार्न लागेको भन्ने आरोप लगाइए पनि त्यसमा कुनै सत्यता नरहेको दोहोर्याए । एमाले अध्यक्ष केपी ओलीको नाम लिदै प्रधानमन्त्री देउवाले ‘केपी ओलीजीले निर्वाचन सार्न लागेको भनेर पटक पटक भन्दै आउनुभएको छ । उहाँले विनाआधार किन त्यस्तो कुरा गर्नुहुन्छ मलाइ थाहा छैन ? उहाँले त मतदान सकिएपछि पनि निर्वाचन सार्ने षड्यन्त्र भइरहेको छ भनेर भन्न बेर लाउनुहुन्न ।’ निर्वाचन सम्पन्न गर्न आफु अहोरात्र लागिरहेको भन्दै प्रधानमन्त्री देउवाले निर्वाचनको सवै तयारी पनि भइसकेकाले अव निर्वाचन सर्ला कि भनेर आशंका नगर्न आग्रह गरे । ‘कुनै हालतमा निर्वाचन सर्दैन । बरु तपाई सञ्चारकर्मीले सहयोग गर्नुस् । बम पड्काउने काम भइरहेको छ उनिहरुलाई निस्तेज गर्न सहयोग गर्नुस् ।’ भेटमा महासंघको टोलीले राज्यले नियन्त्रणमा लिएका ८ जना पत्रकारहरुलाई विनाशर्त रिहाइ गर्न माग गरेको छ । जवाफमा गृहमन्त्री समेत प्रधानमन्त्री देउवाले पत्रकार नियन्त्रणमा लिएकोबारे आफुलाई थाहा नै नभएको भन्दै त्यसवारे बुझ्ने बताए । महासंघका अध्यक्ष गोविन्द आचार्यको टोली प्रधानमन्त्रीलाई भेट्न बुधबार अपरान्ह बालुवाटार पुगेको थियो ।
No comments:
Post a Comment